सालकको नौ किलो खपटासहित सीआईबी र बनेपा प्रहरीद्वारा तीन जना पक्राउ

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काठामाडौं र काभ्रेपलाञ्चोकस्थित ईलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ। अवैधरूपमा ओसारपसार भइरहेको खपटासहित उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ का २६ वर्षीय सुरज झेडीमगर र महाभारत गाउँपालिका–७ का २५ वर्षीय विमान स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।
तीनै जनालाई बनेपा नगरपालिका–६ को २८ किलोस्थित स्वागत क्याफेमा खपटा खरिद बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ गरिएकामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। उनीहरूलाई म्याद थप गरी आज जिल्ला वन कार्यालय बुझाइने न्यौपानेले बताए।
भदौ ९, २०७९ बिहीबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।