अस्पताल लगिएका कैदी हतकडीसहित भागे, प्रहरी निलम्बन गरी छानबिन समिति गठन

काठमाडौँ : हत्या अभियोग पुष्टिसँगै २० वर्ष कैद भुक्तान गरिरहेका कैदी उपचारका लागि लगिएको अस्पतालबाटै भागेका छन्। नख्खु कारागारमा कैदी भोला बुढाथोकी बुधवार महाराजगन्जस्थित टिचिङ अस्पतालबाट भागेका हुन्।
२०७२ सालदेखि कैद भुक्तान गरिरहेका उनको आँखामा समस्या देखिएपछि अस्पताल लगिएको थियो। उनको आधा कैद भुक्तान हुने बेला भइसकेको थियो।
उनी हतकडी सहित फरार भएपछि मिलेमतोको शंकामा प्रहरीले छानबिन समिति गठन गरेको छ।
उपत्यका प्रहरी कार्यालयले प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो।
कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीमा हटाइ कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ।
भदौ ८, २०७९ बुधबार २३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।