बदलिँदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्क र सजग हुनुपर्छ : गृहमन्त्री खाँण
काठमाडौं : गृह मन्त्री बालकृष्ण खाँणले बदलिँदाे अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रिय हुनुपर्ने बताएका छन्।
नेपाल प्रहरीले काठमाडौंमा गरेको एक कार्यक्रममा मन्त्री खाँणले जनताको जीउ धनको रक्षा, सामाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व पूरा गर्न सुरक्षा निकायलाई अझै सवल बनाउन सरकार तयार रहेको बताए।
उनले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए।
अपराध अनुसन्धान तथा नियन्त्रणको साथै अपराधीलाई कानूनी दायरामा ल्याउन देखिएका जटिलतालाई छिटो, छरितो र निष्पक्ष रूपमा सम्बोधन गर्न समीक्षा गोष्ठीमा हुने छलफलले अपराधमा संलग्न व्यक्तिहरू पछि हट्ने अवस्था सिर्जना गर्न मद्दत पुग्ने उनको विश्वास छ।
कार्यक्रममा महान्यायाधिवक्ता खम्म बहादुर खातीले अपराध अनुसन्धान, अभियोजन एवम् न्याय निरूपणको साथै पीडितलाई न्याय दिलाउने सन्दर्भमा यस गोष्ठीमा हुने छलफल, विश्लेषण महत्वपूर्ण हुने चर्चा गर्दै गोष्ठीको प्रतिवेदनलाई कार्यान्वयन गर्न महान्यायाधिवक्ताको कार्यालय तत्पर रहेको बताए।
गोष्ठीमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अपराध अनुसन्धान एवम् नियन्त्रणका लागि महानगरभित्र सिसिटिभि क्यामेरा जडानमा नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने बताउँदै यसले काठमाडौंमा अनाधिकृत रूपमा फालिने फोहोर मैलाको नियन्त्रणमा समेत प्रभावकारी हुने बताए।
कार्यक्रमका अधिकांश वक्ताले बढ्दो साइबर क्राइमका घटनाहरूलाई नियन्त्रण गर्न विभिन्न्न जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिए।
अपराध अनुसन्धानमा बढेका चुनौतिहरू समाधानका लागि नयाँ-नयाँ प्रविधिको प्रयोग गर्ने, अपराध अनुसन्धान गर्ने ईकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरूबीचको अधिकतम परिचालन एवं अन्तर कार्यालय समन्वयको विकास लगायतका विषयमा गोष्ठीमा छलफल तथा अन्तर्क्रिया हुनेछ ।
भदौ ८, २०७९ बुधबार १४:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।