बाबुराम भट्टराई : ‘कम्युनिष्ट रहिन’ भनेको सात वर्षपछि कम्युनिष्टमै समाहित, वैकल्पिक शक्तिको नारा पनि तुहियो

काठमाडौं : भनिन्छ बाह्र वर्षमा खोला पनि फर्कन्छ। खोला फर्कन बाह्र वर्ष लाग्ला–नलाग्ला तर ‘अब कम्युनिष्ट रहिन’ भनेको सात वर्षपछि डा. बाबुराम भट्टराई पुनः कम्युनिष्टको झण्डामा समाहित भएका छन्।
२०७२ असोज ९ मा ५७ बुँदे असन्तुष्टि सार्वजनिक गर्दै माओवादी मुख्यालय पेरिसडाँडालाई ‘भूकम्पमा भत्किएको रातोघर’को संज्ञा दिएर बिदा भएका उनी पुनः माओवादीकै चुनाव चिन्ह लिएर आगामी निर्वाचनमा सहभागी हुँदैछन्।
संविधान निर्माण लगत्तै माओवादी छाडेका भट्टराईले त्यसयता तीन वटा राजनीतिक दलमार्फत वैकल्पिक शक्ति बन्ने सपना देखे। तर, उनको सपना सपनामै सीमित भयो। न वैकल्पिक शक्ति निर्माण गर्नसके न माओवादी छाडेपछिको उनको राजनीतिक जीवन नै सुखमय रह्यो।
५ वर्षअघि २०७३ जेठ ३० गते दशरथ रंगशालामा भव्य कार्यक्रम गरेर नयाँ शक्ति पार्टी, नेपालको घोषणा गरेका उनले त्यसको तीन वर्षपछि उपेन्द्र यादव नेतृत्त्वको संघीय समाजवादी फोरम, नेपालसँग एकीकरण गर्दै समाजवादी पार्टी, नेपाल गठन गरे।
नेपाल समाजवादी पार्टीको चुनाव चिन्ह यसअघि नयाँ शक्ति, नेपालकै चुनाव चिन्ह आँखा हो। तर आँखाको भर नलागेपछि उनी सात वर्षअघिकै पुरानाे ब्राण्ड 'गोलाकार भित्रको हसिया हथौडा'मा फर्किए।
पूर्व माओवादी धारबाटै आएका दुई नेताबीचको मित्रता र केही गरि देखाउँ भन्ने हुटहुटी भट्टराई त्यो समय पनि नदेखिएको होइन। उनले त्यतिबेला पनि समाजवादी पार्टी देशको वैकल्पिक शक्ति बन्ने दाबी गर्न भ्याए। तर, उनकाे सपना पूरा भएन। उल्टै तुहियो।
भट्टराई र यादव नेतृत्त्वको उक्त पार्टीले पनि गति लिन सकेन। त्यसपछि भट्टाराईले मधेशकेन्द्रीत अन्य सात दलसँग एकता गरेर जनता समाजवादी पार्टी गठन गरे। तर त्यसमा पनि उनी टिक्न सकेनन्। पार्टीलाई क्षेत्रीय रूपमा मात्र सीमित गर्न खोजेको र नेतृत्त्वको सोच संकीर्ण भएको आरोप लगाउँदै एक महिनाअघि मात्र उनले नेपाल समाजवादी पार्टी पुनर्गठन गरे र अध्यक्ष बने।
सोमबार तीनकुनेमा पार्टी कार्यालय स्थापना पनि भयो। पार्टी भयो, कार्यालय पनि भयो तर संगठन छैन। नेपाल समाजवादी पार्टीको चुनाव चिन्ह नयाँ शक्ति, नेपालकै चुनाव चिन्ह हो, आँखा। तर आँखाको भर नलागेर उनी सात वर्षअघिकै ब्राण्ड 'गोलाकार भित्रको हसिया हथौडा'मा फर्किए।
माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने निर्णय गरे पनि भट्टराईलाई यसअघिको गढ मानिएको गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट टिकट पाउन सहज छैन। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग उनले टिकटको लागि ठाउँ मिलाउनुपर्नेछ।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा भट्टराई र श्रेष्ठ एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए। नेपाली कांग्रेसको साथ लिएर तत्कालीन नयाँ शक्ति पार्टीबाट लड्दा भट्टराई ३१ हजार ८०७ मत ल्याएर विजयी भएका थिए। एमालेको सहयोग पाएका माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले २४ हजार ९३३ मत ल्याएका थिए।
०७० को निर्वाचनमा मकवानपुरबाट पराजित श्रेष्ठ गोरखामा एकपटक भए पनि जितेरै देखाउने दाउमा छन्। जसका लागि उनले तयारी पनि गरिरहेका छन्। यो उनको लागि आत्मसम्मानको विषय पनि हुनसक्छ।
स्थानीय निर्वाचनमा क्षेत्र नम्बर २ मा पर्ने यो क्षेत्रमा सिरानचोक गाउँपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र गोरखा नगरपालिकाको ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडा पर्छन्। वैशाखमा भएको स्थानीय निर्वाचनमा तत्कालीन अवस्थामा उनी रहेको पार्टी जसपाले यहाँ ७ हजार ७८ मत पाएको छ।
वडा तहको मत विश्लेषण गर्दा गएको कांग्रेसले २१ हजार १९८, माओवादीले २२ हजार २२९, एकीकृत समाजवादीले ७६ मत ल्याए। एमालेले ११ हजार ४३० मत ल्याएको छ। गठबन्धनको मत जोड्ने हो भने ५० हजार ५८१ पुग्ने देखिन्छ। यो एमालेको भन्दा ३९ हजार १५१ बढी हो।
गठबन्धनको तर्फबाट जसले टिकट पाउँछ उसले सांसदको टिकट काट्ने पक्का देखिन्छ। हालै लिइएको एक अन्तर्वार्तामा आफूले प्रधानमन्त्रीमा दाबी नगर्ने बताएका उनी गठबन्धनले साथ दिए फेरि एकपटक संसद छिर्छन्।
केन्द्रीय तहमा प्रभावशाली नेता मानिए पनि जनतामा भने उनको लोकप्रियता खस्कँदो छ। दुई निर्वाचनको मतलाई तुलना गर्दा पनि त्यो प्रष्ट हुन्छ। ०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा ४६ हजार २७२ मत (८१.९३) ल्याएका उनले ०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा गोरखा–१ बाट २२ हजार ८२४ मत (५८.२८ प्रतिशत) मत ल्याए। ०७४ को निर्वाचनमा उनी कांग्रेसको सहारामा विजयी भएका थिए।
श्रेष्ठ र भट्टराई एक अर्काको तगारो
‘भूकम्पले भत्काएको रातो स्टिकर टाँसेको घर’ प्रवेशमा ग्रीन सिग्नल पाएका भट्टराईको प्रवेश माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठका लागि भने तगारो हुनसक्छ। माओवादीमै रहँदा भट्टराई र श्रेष्ठबीच सुमधुर सम्बन्ध नभएको विषय जगजाहेर नै छ।
भट्टराई पुरानो घरमा पाहुनामात्र बन्न जाँदा पनि उनको र श्रेष्ठको विगतको तिक्ततापूर्ण सम्बन्धमा आएको सुधार फेरि बल्झिने त होइन? भन्ने आशंका पनि नउठेको होइन। भट्टराईसँग हारेका श्रेष्ठ ठूलो हंगामाबीच राष्ट्रिय सभा छिरे। प्रतिनिधि सभा निर्वाचनमा पराजित व्यक्ति जस्केलाबाट राष्ट्रिय सभा छिरेको भन्दै उनको आलोचना पनि भयो।
०७० को निर्वाचनमा मकवानपुरबाट पराजित श्रेष्ठ गोरखामा एकपटक भए पनि जितेरै देखाउने दाउमा छन्। जसका लागि उनले तयारी पनि गरिरहेका छन्। यो उनको लागि आत्मसम्मानको विषय पनि हुनसक्छ।
निर्वाचनपछि एमालेबाहेकका कम्युनिष्ट घटकहरूले समाजवादी केन्द्र नेपाल निर्माण गर्ने चर्चा चलिरहँदा भट्टराई समाजवादी केन्द्रमा आए र श्रेष्ठले पनि निर्वाचन जिते पार्टीभित्र संसदीय वरीयता मिलाउनसमेत गाह्रो हुने देखिन्छ। गठबन्धनमा एकै ठाउँमा रहेका यी दुई नेता निर्वाचन क्षेत्रमा भने एकअर्काकाको तगारोको रूपमा देखिएका छन्।
भदौ ८, २०७९ बुधबार ०८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।