एमाले बैठकको निश्कर्ष : वाम एकताको ‘च्याप्टर क्लोज’, थोरै मेहनत गरे पहिलो पार्टी बन्छ

काठमाडौं : मंगलबारको एमाले स्थायी कमिटी बैठकले वाम एकताको च्याप्टर क्लोज भएको निश्कर्ष निकाल्यो।
गठबन्धनको नाममा पार्टीभित्र नेताहरूको एकमत हुनुपर्नेमा नेताहरूले आवाज उठाए। कांग्रेस छाड्नै नसक्ने गरि माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनमा बसेको निश्कर्षसमेत एमालेको छ।
बैठकमा गण्डकी बाहेक ६ वटा प्रदेशका इन्चार्जले त्यहाँको शक्ति सन्तुलनको अवस्थाबारे रिपोर्टिङ गरे।
प्रदेश १ का इन्चार्ज देवराज घिमिरे, मधेश प्रदेशका रघुवीर महासेठ, बागमतीका काशिनाथ अधिकारी, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टले पार्टीको अवस्था ब्रिफिङ गरे।
बागमतीमा मतमा अगाडि, गण्डकी र प्रदेश १ मा पहिलो, सुदूरपश्चिम र कर्णालीमा पछाडि रहेको र लुम्बिनीमा प्रदेशमा थोरैमात्र पछाडि परेको ब्रिफिङ भयो। एमाले कमजोर देखिएको मधेश प्रदेशमा विभिन्न कम्बिनेशनले असर गर्ने निश्कर्ष छ।
दलहरू एक्ला एक्लै लड्दा एमाले पहिलो शक्ति हुने र गठबन्धन एक हुँदा पार्टीले अधिकतम सिट हात पार्ने रणनीति बनाउने विषयमा बैठक केन्द्रीत थियो। निर्वाचनपछि कुनै पनि पार्टी बलियो नदेखिने र कम्बिनेशनको आधारमा नतिजा निस्कने उसको ठम्याइ छ।
‘प्रदेश भित्रको स्थानीय तहको निर्वाचनको परिणामहरू र सम्भावित कस्तो नतिजा आउँछ भन्ने आँकलन आयो,’ स्थायी कमिटी बैठकबारे एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उकेरासँग भने।
एकल प्रतिस्पर्धामा जाँदा एमालेले दुई तिहाइ सिट जित्ने उनको दाबी छ। गठबन्धन भएर जाँदा पनि बहुमत भने आउने उनले बताए।
‘तलबाट आएकाे रिपाेर्टिङलाई हेर्दा एकल प्रतिस्पर्धामा पार्टीले दुई तिहाइ बहुमत ल्याउँछ,' उनले थपे, 'यद्यपि गठबन्धनसँग एमाले एक्लै लड्दा पनि बहुमत आउने आँकलन छ।’
एमालेले बलियो दाबी गरे पनि वैशाख ३० को स्थानीय निर्वाचनमा उ दोस्रो स्थानमा देखियो। निर्वाचन आयोगका अनुसार एमालेले वडाध्यक्षमा देशभरबाट ३३.०३ प्रतिशत मत ल्याएको छ। कांग्रेसले देशभरबाट ३४.२८ प्रतिशत ल्याएको आयोगको तथ्याङ्कले देखाउँछ।
‘बैठकले थोरैमात्र मेहनतले एमाले सातै प्रदेशमा पहिलो पार्टी बन्छ भन्ने निश्कर्ष निकाल्यो’, बागमती प्रदेश प्रमुख केशव पाण्डेले उकेरासँग भने।
बैठकमा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने मापदण्डको मस्यौदा छलफलका लागि पेश भयो। त्यसमा आएका सुझावका आधारमा सोही बमोजिमको निर्णय हुने प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।
हाल प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकबाट सांसद रहेकाहरूलाई सोही ठाउँमा पुनः उम्मेदवार बनाउने कि नबनाउने ? यसअघि एक वा त्यो भन्दा बढी पटक समानुपातिक सांसद भएकाहरूलाई सोही कोटामा फेरि उम्मेदवार बनाउने कि नबनाउने ? भन्ने विषयमा सदस्यहरूको धारणा मागिएको छ।
यस्तै, राष्ट्रियसभाका सांसदलाई प्रतिनिधि सभा वा प्रदेश सभाको सदस्यमा उम्मेदवार बनाउने कि नबनाउने ? स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनाउने कि नबनाउने? लगायतका विषयमा पनि एमालेले सदस्यको सुझाव लिनेछ।
एमालेको ९ गते पोलिटब्यूरो बैठक १० र ११ गते केन्द्रीय समिति बैठकको तालिका छ। सो बैठकबाट मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनमा एमालेको रणनीति तय गर्नेछ।
भदौ ७, २०७९ मंगलबार २२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।