सुन तस्करीमा संलग्न भएको आरोपपछि गृहमन्त्रीका पिएसओ हेडक्वाटर तानिए

सुन तस्करीमा संलग्न भएको आरोपपछि गृहमन्त्रीका पिएसओ हेडक्वाटर तानिए

काठमाडौं : सुन तस्करीमा संलग्न भएको आरोपपछि गृहमन्त्री बालकृष्ण खाँणका पिएसओ प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)तानिएका छन्।

सञ्चार माध्यममा सुन तस्करीमा गृहमन्त्रीको पिएसओको संलग्नता रहेका खबरपछि नेपाल प्रहरीले प्रहरी वरिष्ठ नायव निरीक्षक टंक कार्कीलाई प्रहरी प्रधान कार्यालयको सुपरिवेक्षण तथा अनुगमन महाशाखामा झिकाएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो।

कार्कीउपर छानबिन तथा अनुसन्धान भइरहेकोसमेत प्रवक्ता राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कार्कीमाथि छानबिनका लागि एकजना डिएसपीको नेतृत्त्वमा टोलीसमेत बनाइएको छ। छानबिनपछि दोषी देखिएको खण्डमा उनलाई कारबाही गरिने राईको भनाइ छ।

दुबईबाट सुन तस्करी गरेर ल्याएको आरोप लागेका एक व्यक्तिलाई थुनामा राखेर उनीसँग भएको ४ लाख रुपैयाँ गायब पारिएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी परेपछि उनीमाथि छानबिन अघि बढाइएको हो।

कार्कीले ती व्यक्तिलाई असार १६ गते प्रहरी वृत्त गौशालाम थुनाएको र उनीसँग भएको ४ लाख रुपैयाँ समेत गायब बनाएको आरोप लागेको छ। ती व्यक्ति असार २७ गते थुनामुक्त भएका थिए।

भदौ ७, २०७९ मंगलबार २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।