नयाँ पार्टीबाट झलनाथको पहिलो र अन्तिम निर्वाचन, कांग्रेसको भोटले मात्रै जित सम्भव

नयाँ पार्टीबाट झलनाथको पहिलो र अन्तिम निर्वाचन, कांग्रेसको भोटले मात्रै जित सम्भव

काठमाडौं : राष्ट्रपति निवासतिर आँखा सोझ्याएको भन्दै चर्चामा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०४८ सालदेखि जित्दै आएको निर्वाचन क्षेत्र हो इलाम १।

आफैँले खोलेको नयाँ दल एकीकृत समाजवादीबाट पहिलो र अन्तिम पटक चुनावी मैदानमा उत्रँदैछन्। आइतबार बुटवलमा उनले जनतासँगको मायाप्रिति नटुटेको भन्दै अब एकपटक चुनाव लड्ने घोषणा गरे।

खनालले ०७४ सालको निर्वाचनमा एमालेमा रहँदा इलाम–१ बाट वाम गठबन्धनका उम्मेदवार भएर प्रतिनिधिसभा सदस्य निर्वाचित भए। कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजार १६७ मतले पछि पार्दा उनले ३६ हजार ८०५ मत ल्याएका थिए।

छैटौंपटक इलामबाट जितेर कीर्तिमान राख्ने सुरमा रहेका उनले ०४८ र ०५१ को निर्वाचनमा कांग्रेसका तोयानाथ भट्टराईलाई पराजित गरेका थिए। ०५६ को निर्वाचनमा पराजित भएका उनले ०६४ र ०७० मा भएको निर्वाचनमा भने बाजी मारे।

इलाम १ मासन्दकपुर, माइजोगमाई, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, माई नगरपालिकाका ७ वटा वडा र इलाम नगरपालिकाको वडा नं. १० पर्छ। स्थानीय तहमा सन्दकपुर, रोङ र सूर्योदयमा गठबन्धनले प्रमुख जितेको छ। अन्य नगर र पालिकामा एमालेले एक्लै जितेको छ।

खनालको पार्टी एकीकृत समाजवादीको मत धेरै पछाडि छ। यो निर्वाचन क्षेत्रमा एमालेको २६ हजार २३३, कांग्रेसको २५ हजार ७७२, एकीकृत समाजवादीको ९ हजार ४८१, जसपाको १ हजार ८२९, माओवादीको १ हजार २३५ र राप्रपाको १ हजार १६९ मत छ। 

गठबन्धनको भोट ३८ हजार ३१७ मत छ। यो एमालेको भन्दा १२ हजार ८४ मत बढी हो। तर, एमाले र राप्रपाका बीचमा गठबन्धन भएमा उनीहरूको मत २७ हजार ४०२ हुन जान्छ। 

यस निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको भोट अत्यन्तै कम रहेको कांग्रेसका जिल्लास्तरीय नेताहरूको दाबी छ। तर, गठबन्धनमा आवद्ध दलका शीर्ष नेताको क्षेत्र भएकाले एकीकृत समाजवादीले टिकट पाउने सम्भावना बलियो छ।

सूर्योदय नगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीले प्रमुख जिते पनि कार्यपालिका र जिल्ला समन्वयको निर्वाचनमा एमालेसँग सहकार्य गरेकाले कांग्रेसका स्थानीय कार्यकर्ता रुष्ट छन्।

भदौ ७, २०७९ मंगलबार १९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।