बालेनको कटाक्षपछि मुड्खु–तिनपिल्ले सडक निर्माणमा सरकारको चासो, टेण्डर खुलाउन स्वीकृृति

काठमाडौं : काठमाडौं महानगरका प्रमुख बालेन शाहको कटाक्षपछि सरकारले मुड्खु–तिनपिल्ले सडक निर्माण कार्य तत्काल अघि बढाउन चासो देखाएको छ।
काठमाडाैं उपत्यकाको फोहोर व्यवस्थापनका लागि मुड्खु–तिनपिप्ले ५.५ किलोमिटर सडक निर्माण कार्य तत्काल अघि बढाउन सोमबारको मन्त्रिपरिषद् बैठकले बोलपत्र आह्वान गरी खरिद पक्रियामा लैजान सैद्धान्तिक स्वीकृति दिएको हो।
स्वीकृतिसँगै अब उक्त सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वान हुनेछ।
काठमाडौं उपत्यकाको फोहोर बाइपास–मुड्खु–तिनपिप्ले हुँदै बञ्चरेडाँडासम्म जाने गरेको छ। उक्त सडक खण्ड स्तरोन्नत्तिका लागि शैलुङ कन्ट्रक्सनलाई २०७१ सालमा ठेक्का परे पनि काम नहुँदा फोहोर व्यवस्थापनमा अहसज भइरहेको थियो।
केही दिनअघि मात्र फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडा जाने क्रममा मुड्खु–तिनपिप्ले सडकको भिडियो सामाजिक सञ्जालमा राख्दै काठमाडौं महानगर प्रमुख शाहले सत्ताधारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि कटाक्ष गरेका थिए।
उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘श्रीमान प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’
शैलुङ कन्स्ट्रक्सनका मालिक शारदा अधिकारी माओवादी अध्यक्ष प्रचण्डका घरबेटी हुन्। अधिकारीले भक्तपुर–नगरकोट, खाडीचौर–चरिकोट सडकको समेत ठेक्का लिएर अलपत्र पारेका थिए।
भदौ ७, २०७९ मंगलबार १६:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।