पृथ्वी सुब्बा गुरुङ भन्छन्- ‘गठबन्धन झ्याली पिटाउने विषय हो र?’

काठमाडौं : एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले गठबन्धन गरेको विषय झ्याली पिटाउने विषय नभएको बताएका छन्।
मंगलबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै गुरुङले एमालेले विचार र सिद्धान्त मिल्ने दलहरूसँग मात्र गठबन्धन गर्ने बताए। यद्यपि आफूहरू एक्लाएक्लै निर्वाचन जानुपर्छ भन्ने पक्षमा रहेका बताए।
‘गठबन्धन नगरेर एक्लै निर्वाचनमा जानुपर्छ भन्ने पार्टी एमाले हो,’ उनले भने, ‘तर एमालेसँग गठबन्धन गर्न चाहनेहरूका लागि भने विचार र सिद्धान्तका आधारमा केही ठाउँमा तालमेल हुनसक्छ।’
चुनावी तालमेलको विषयमा विभिन्न पार्टीहरूसँग छलफल भइरहेको भन्दै उनले अहिले नै सबै कुरा खुलाउन नमिल्ने बताउँँदै भने, ‘गठबन्धन र तालमेलको विषय झ्याली पिटाउने विषय होइन।’
गुरुङले एमालेको लोकप्रिय मत ३४ प्रतिशत भएको बताउँदै आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी निर्वाचन रणनीति तय गरिरहेको बताए।
भदौ ७, २०७९ मंगलबार १६:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।