सामान्य भयो पोखरामा बन्दको प्रभाव, विस्फोटक पदार्थ भनिएको वस्तुमा बालुवा भेटियो

पोखरा: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीको आह्वानमा भएको बन्दको प्रभाव पोखरामा सामान्य परेको छ। पोखरा क्षेत्रमा भाडाका सावरी साधन, स्कुल, व्यावसायिक प्रतिष्ठान लगायत बन्द रहे पनि निजी सवारी, एम्बुलेन्स, दूध बोक्ने गाडी लगायतका सवारी भने निर्वाधरूपमा संचालनमा छन्।
बन्दका कारण पोखराबाट देशका विभिन्न स्थानका लागि छुट्ने भाडाका सवारी चलेका छैनन्। पोखराका भित्री बजार भने फाट्टफुट्टरूपमा चले।
सरकारले राष्ट्रघाती एमसीसी सम्झौता गरेको र विप्लव नेतृत्त्वको पार्टीसँग गरिएका तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बन्द आह्वान गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवम् डीएसपी सुन्दर तिवारीले पोखरामा बन्दको प्रभाव सामान्य रहेको बताए। उनले पोखराको बुढीबजारको सडकमा राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको बताए।
उनले भने, ‘बुढिबजारको सडकमा राखिएको शंकास्पद वस्तुलाई सेनाले डिस्पोज गरेको छ। सडकमा राखिएको वस्तुमा कुनै विस्फोटक पदार्थ रहेनछ। त्यसमा बालुवा भरिएको भेटियो।’
डीएसपी तिवारीले पोखरामा कुनै तोडफोड र हिंसात्मक घटना नभएको बताए। यस्तै कुनै पनि बन्दकर्ता पक्राउ नगरिएको उनले बताए।
भदौ ७, २०७९ मंगलबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।