माछापुच्छ्रेका किशोर चार दिनदेखि बेपत्ता

कास्की: माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि बेपत्ता भएका छन्। कक्षा १० मा अध्यनरत पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएका हुन्।
सो दिन बिहान ११ बजे परिवारका अन्य सदस्य काममा जाँदा समेत घरमै भएका उनी दिउँसो ३ बजे आमा मेलाबाट फर्किँदा घरमा नभएपछि खोजतलास गरिएको थियो। सोमबार रातिसम्म पनि उनी फेला परेका छैनन्।
घर्तीमगर अध्ययनरत विद्यालय शुक्ला गण्डकी माविका प्रधानाध्यापक शान्तिरमण पोखरेलका अनुसार किशोर बेपत्ता भएको दिन दिउँसो १ बजेतिर छिमेकीले घरदेखि अन्दाजी पाँच किमी टाढा पोखरा–१९ लामाचौर चोकमा देखेको बताए पनि त्यसपछि केही जानकारी प्राप्त भएको छैन।
किशोरको साथमा रहेका मोबाइल, पैसा र पर्सलगायतका सामग्री पनि घरमै फेला परेको छ। विद्यालयमा सञ्चालन भइरहेको परीक्षामा आइतबार घर्तीमगर अनुपस्थित भएपछि विद्यालयले पनि खोजी गरेको थियो।
यस्तै बेपत्ता किशोरका बाबुआमा सामान्य मजदूरी गरेर घर चलाउँदै आएको र सन्तान हराएपछि परिवार चिन्तामा परेको प्रधानाध्यापकले बताएका छन्।
बेपत्ता किशोर कम बोल्ने स्वभावका छन्।
भदौ ७, २०७९ मंगलबार १०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।