नक्कली सही र छाप लगाएर लाइसेन्सको प्रवेशपत्रमा 'पास' लेखेपछि सशस्त्र प्रहरी पक्राउ

काठमाडौंः सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाही रहेका छन्।
उनलाई सुर्खेत प्रहरीले सोमबार वीरेन्द्रनगर–७ स्थित यातायात्र व्यवस्था कार्यालयमै पुगेर नियन्त्रणमा लिएको हो।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्र परीक्षाको (लिखित÷प्रयोगात्मक) प्रवेशपत्रमा यातायात व्यवस्था कार्यालयका कर्मचारीको कीर्ते सही र छाप लगाई पास (उत्तीर्ण) लेखिएको शङ्कास्पद प्रवेशपत्र भेटिएको थियो। यातायात कर्मचारीले शङ्कास्पद प्रवेशपत्र देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले कर्मचारीको सही, कार्यालयको छाप सक्कली हो वा होइन भनेर अनुसन्धान गरिने बताए। “प्रवेशपत्रमा पास लेखिएको छ, विस्तृत अनुसन्धान हुँदैछ”, उनले भने, “सम्बन्धित कार्यालयकै कर्मचारीले शङ्कास्पद ठानेर खबर गरेपछि नियन्त्रणमा लिएका हौँ।”
भदौ ७, २०७९ मंगलबार ०८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।