सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्भेस्टमेन्ट बैङ्कले पाँच करोडमा बनायो पशुपतिको महास्नान घर र सङ्ग्रहालय

काठमाडौँ : नेपाल इन्भेस्टमेन्ट बैङ्कले पशुपति क्षेत्रमा रहेको महास्नान घरको पुनर्निर्माण सकाएर पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ। पशुपति क्षेत्रमा रहेको सो महास्नान घर जीर्ण भएपछि बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धार्मिक दृष्टिकोणले अति महत्त्वपूर्ण मानिने सो महास्नान घरको पुनर्निर्माण गरेर कोषलाई सोमबार हस्तान्तरण गरेको हो।
कोषले नवनिर्मित महास्नान घरमा पशुपति सङ्ग्रहालय बनाएको छ। पुनर्निर्माण सकिएपछि सोमबार पर्यटन तथा संस्कृति मन्त्री जीवनराम श्रेष्ठले सङ्ग्रहालयको उद्घाटन समेत गरेका थिए।
धार्मिक रूपमा अति महत्त्वपूर्ण मानिने सो महास्नान घर २०७२ सालको विनाशकारी भूकम्पमा जीर्ण भएको थियो। बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो घरको जीर्णोद्धारको जिम्मा लिँदै महास्नान घर पुनर्निर्माण र त्यसमै म्युजियम बनाउन पाँच करोड १४ लाख खर्च गरेको छ।
बैकले जिम्मा लिएको एक वर्षमा पुनर्निर्माणको काम सक्काएको हो। म्युजियममा छैटौँ शताब्दीका ढलोट, ढुङ्गा र काठको मूर्ति, ऐतिहासिक गरगहना राखिएको कोषले जानकारी दिएको छ।
भवन हस्तान्तरण तथा सङ्ग्रहालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले धार्मिक र ऐतिहासिक क्षेत्रको पुनर्निर्माणमा बैङ्कले लगानी गरेर सकारात्मक कामको सुरुवात गरेको भन्दै धन्यवाद दिएका थिए। उनले पशुपति दर्शनका लागि आउने पर्यटकहरूलाई म्युजियमबारे जानकारी गराएर भ्रमण गराउन कोषलाई सुझाव दिएका थिए।
कार्यक्रममा इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा क्षेत्रमा लगानी गर्न पाउँदा खुसी लागेको बताएका थिए। उनले उपत्यकाका ऐतिहासिक सम्पदा संरक्षणमा बैङ्कले लगानी गर्दै आइरहेको समेत बताएका थिए।
भदौ ६, २०७९ सोमबार २२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।