गगन थापाद्वारा शहरी विकास मन्त्रीको प्रस्ताव अस्वीकार, छलफलपछि निर्णय गर्ने भन्दै पन्छिए

गगन थापाद्वारा शहरी विकास मन्त्रीको प्रस्ताव अस्वीकार, छलफलपछि निर्णय गर्ने भन्दै पन्छिए

काठमाडौं : सांसद गगन थापाले काठमाडौैं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौं, नुवाकोट र धादिङका सांसदहरूको अनुमगन समितिको संयोजक बन्ने शहरी विकास मन्त्री मेटमणि चौधरीको प्रस्ताव अस्वीकार गरेका छन्।

सोमबार शहरी विकास मन्त्रालयमा भएको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा देखिएका स्थानीय समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठकमा मन्त्री चौधरीले थापा संयोजक रहनेगरी अनुगमन समिति बनाउने प्रस्ताव गरेका थिए।

मन्त्रीको प्रस्तावलगत्तै बोल्दै सांसद थापाले तीन जिल्लाको सांसदको भेलाबाट नै संयोजक तोक्न सकिने बताए। उनले आफूलाई सिधै संयोजक तोक्न भन्दा भेलाले नै संयोजक तोक्दा राम्रो हुने धारणा राखे।

बैठकमा शहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर व्यवस्थापनमा सरकारका तर्फबाट भइरहेका प्रयासबारे जनतालाई जानकारी दिनुपर्ने बताए। उनले स्थानीय जनता, जनप्रतिनिधि, तीन जिल्लाकका निर्वाचित सांसद, फोहोर व्यवस्थापन विज्ञहरूको प्रयासमा समस्या समाधान गर्नुपर्ने बताए।

मन्त्रालयले आयोजना गरेको बैठकले नेपवेस्ट सम्झौतामा थप छलफल गर्न सिफारिस गर्ने, अनुगमन तथा सहजीकरण समिति बनाउने र फोहोर मैला व्यवस्थापनमा उपलब्ध नयाँ प्रविधि सम्बन्धी अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय समेत गरेको छ। 

भदौ ६, २०७९ सोमबार २१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।