चार्जिङ स्टेशन निर्माण र सञ्चालनका लागि प्रहरीसँग प्राधिकरणको हातेमालो

चार्जिङ स्टेशन निर्माण र सञ्चालनका लागि प्रहरीसँग प्राधिकरणको हातेमालो

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्झदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले चार्जिङ स्टेशन निर्माण र सञ्चालन सम्बन्धी भएको सम्झौताका लागि नेपाल विद्युत् प्राधिकरणलाई धन्यवाद दिए। उनले आगामी दिनमा प्रहरी जनशक्ति बढी भएका प्रहरी कार्यालयहरूमा चार्जिङ स्टेशन विस्तार गर्न समेत आग्रह गर्नुभयो।

विद्युत चोरी, विद्युतीय पोल चोरी लगायतका विषयमा विद्युत् प्राधिकरणसँग यसअघि पनि सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले राजमार्ग र पहाडी जिल्लामा स्थापना भएका चार्जिङ स्टेशनहरूको सुरक्षाका लागि प्रहरी सदैव तयार रहेको बताए।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य रहेको भन्दै यसमा नेपाल प्रहरीको भूमिका सबै भन्दा बढी प्रभावकारी रहने बताए।

चार्जिङ स्टेशन स्थापना गर्ने कार्यमा सुरक्षा चुनौती र स्थानको समस्यालाई समाधान गर्न नेपाल प्रहरीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने उनको भनाइ छ।

भदौ ६, २०७९ सोमबार १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।