वन मन्त्रालय गाली खाने मन्त्रालय भएको छ : मन्त्री यादव

काठमाडौं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफ्नो मन्त्रालय गाली खाने मन्त्रालय भएको बताएका छन्।
आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले आफूहरू काम गरे पनि गाली खाने र नगरे पनि खाली खाने ठाउँमा रहेको गुनासो गरे।
मन्त्री यादवले आफू विकासविरोधी नभएको भन्दै मन्त्रालयमा रहँदासम्म विकासको क्षेत्रमा नमूना काम गरेर देखाउने बताए।
‘रुख काट्ने अनुमति दिउँ मन्त्रीले वनमारा मन्त्री आयो भनेर गाली गर्छन्, रुख काट्ने अनुमति नदिउँ विकास बिरोधी मन्त्री आयो भन्छन,’ उनले भने, ‘हामी गाली सहेर भए पनि विकासको क्षेत्रमा नमूनाको काम गर्छौं।’
हिजोका मन्त्रीले गरेको कामको बारेमा टिप्पणी नगर्ने भन्दै मन्त्री यादवले कामको प्रभावबारे पहिले नै जानकारी दिएर मात्र काम थाल्ने बताए। आफूले गलत काम नगर्ने दाबी गर्दै उनले मन्त्रालयमा असहयोग गर्नेहरूलाई पनि नराख्ने स्पष्ट पारे।
मन्त्री यादवले जलवायु परिर्वतनको असर अहिलेकै अवस्थामा रहे मन्त्रालयले संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने चेतावनी दिए। वातावरणका क्षेत्रमा गर्नुपर्ने थुप्रै कामहरू बजेट अभावमा गर्न नसकिएको उनको गुनासो छ।
भदौ ५, २०७९ आइतबार १९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।