पोखरामा एटिएम मेसिन फोडेर पैसा चारेको आरोपमा एक जना पक्राउ

पोखरामा एटिएम मेसिन फोडेर पैसा चारेको आरोपमा एक जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी (पूर्व) देवचुली नगरपालिका–५ घर भई कास्की पोखरा महानगरपालिका–३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिस तामाङ रहेका छन्।

पोखराकै एनआइसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको आरोपमा बिहीबार उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

साथै प्रहरीले घटनामा प्रयोग भएको ग १० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित बिचारी चौतारामा फेला परेको थियो।

तामाङउपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

भदौ ५, २०७९ आइतबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।