गिरिको बिदाइमा शोकमा रहेका देउवाको मन भुलाउन माधव नेपालले मोबाइलमा के देखाए !

काठमाडौँ : गिरिजाप्रसाद कोइरालासँग बढेको विवाद नथामिएपछि पार्टी नै विभाजित गरेर प्रजातान्त्रिक कांग्रेसको गठन गर्दाताका समेत साथ पाएका बौद्धिक नेता प्रदिप गिरिको भौतिक शरीरको बिदाइ शेरबहादुर देउवाका लागि पक्कै सहज अवस्था हैन भन्ने उनको मुहारले नै देखाइरहेको थियो। उनी टोलाइरहेका थिए। उनका आँखाले उनको मनमा गढेको शोक छल्काइरहेको थियो।
माधव नेपालको आँखाले पनि गिरिको बिदाइमा उनी पनि दुखी रहेको देखाइरहेको थियो। तर उनी टोलाइरहेका थिएनन्। उनी सकेसम्म देउवाको मन बहलाउन खोजिरहेका थिए। फोटोग्राफी नेपालको शौक नै भयो। शोकको समयमा होस् या खुसीको समयमा उनका हात मोबाइलमा चलमलाइरहन्छ। उनी तस्बिर खिच्न खुबै मन पराउँछन्।
गिरिको श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवासँगै बसेका उनी देउवा झैँ टोलाइरहन सकेनन्। उनको हात सक्सकायो होला। मोबाइल निकाले खल्तीबाट अनि गिरीको श्रद्धाञ्जली चलिरहेको दृश्य खिचेर देउवालाई देखाए। देउवाले पनि केही चाख माने जस्तै गरेर नेपालको फोटोग्राफी कलाको पहिलो दर्शक बनिदिए।
तर नेपालले आफूले खिचेका गिरिको भौतिक शरीरको अन्तिम यात्राका तस्बिर सामाजिक सञ्जालमा भने राखेका छैनन्।
भदौ ५, २०७९ आइतबार १६:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।