प्रदीप गिरिका दुई विशेषता युवापुस्ताले पछ्याउनुपर्छ : शरदसिंह भण्डारी

प्रदीप गिरिका दुई विशेषता युवापुस्ताले पछ्याउनुपर्छ : शरदसिंह भण्डारी

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिका दुई विशेषतालाई राजनीतिमा लाग्ने युवापुस्ताले अंगिकार गर्नुपर्ने बताएका छन्।

आइतबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा स्वर्गीय गिरिलाई अन्तिम श्रद्धान्जली दिन पुगेका भण्डारीले गिरिको जीवनशैली र वैचारिक सिद्धान्तलाई राजनीतिमा आउने नयाँ पुस्ताले अंगिकार गर्नुपर्ने बताए।

‘प्रदीप गिरिको दुईवटा कुरा हामीले पछ्याउनुपर्छ,’ उनले भने, ‘एउटा उहाँको सदाचारी र सादगी जीवनशैली र अर्को भनेको आफूले बोकेको सिद्धान्त इमान्दारीपूर्वक अघि बढ्ने अठोट हो।’

नेता भण्डारीले गिरिले संविधान निर्माणका क्रममा राखेको स्पष्ट अडानको प्रशंसा गर्दै समाजवाद र लोकतन्त्रमा लिएको अडानको आफू प्रशंसक रहेको बताए।

‘संविधान निर्माणको क्रममा जबसम्म सबैको संविधान बन्दैन, तबसम्म त्यो संविधान अधुरो बन्छ र अधुरो संविधानले मुलुकलाई अगाडि लैजान सक्दैन भन्ने उहाँको धारणा थियो,’ उनले भने, ‘सिंगो पार्टीसँग लडेर उहाँले संविधान पूर्ण रूपमा ठिक नभएको बताउनुभएको थियो।’

नेत भण्डारीले गिरिसँग आफ्नो पारिवारिक सम्बन्ध पनि भएकाले दाजु गुमाएको बताए।

भदौ ५, २०७९ आइतबार १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।