संविधानमा हस्ताक्षर नगरेको क्षण सम्झँदै महतोले भने– ‘गिरि दलभन्दा माथि उठेर देश र जनताको लागि सोच्ने नेता हुनुहुन्थ्याे’

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका नेता प्रदीप गिरि दलभन्दा माथि उठेर देश र जनताको लागि सोच्ने नेता भएको बताएका छन्।
आइतबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा स्वर्गीय गिरिलाई अन्तिम श्रद्धान्जली दिन पुगेका महतोले संविधान निर्माणका क्रममा प्रदीप गिरिले हस्ताक्षर नगरेको स्मरण गर्दै भने, ‘संविधान निर्माणको क्रममा हस्ताक्षर नगर्ने उहाँ कांग्रेसको एकमात्र नेता हो, यसबाट के देखिन्छ भने उहाँ पार्टीभन्दा माथि देश र जनताको लागि सोच्ने आदर्शवादी नेता हुनुहुन्थ्यो।’
गिरिले २०७२ सालमा बनेको संविधान सम्पूर्ण नेपाली जनताको लागि नभएको भन्दै संविधान निर्माणको क्रममा हस्ताक्षर गरेका थिएनन्। गिरिको निधनले नेपाल र नेपालीको लागि अतुलनलीय क्षति भएको भन्दै उनले नेपाली जनताले गिरिलाई सधैँ सम्झिरहने बताए।
गिरिले सिद्धान्त र निष्ठाको राजनीतिक गरेको भन्दै महतोले देशका युवा नेताले उनीबाट स्वार्थरहीत राजनीति सिक्नुपर्ने बताए।
भदौ ५, २०७९ आइतबार १३:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।