तीन दिनसम्म कांग्रेसले पार्टी कार्यालयको झण्डा आधा झुकाउने

तीन दिनसम्म कांग्रेसले पार्टी कार्यालयको झण्डा आधा झुकाउने

काठमाडौंः नेपाली कांग्रेसले आगामी तीन दिनसम्म पार्टी कार्यालयको झण्डा आधा झुकाउने भएको छ। नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरू सबै कार्यक्रम स्थगित गर्ने बैठकले निर्णय गरेको छ। यस्तै भाद्र ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गरिनेछ।

स्वर्गारोहणको १३ औं दिन (भाद्र १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने पनि भएको छ। यस्तै १३औं दिनमा केन्द्र र सबै जिल्लाहरूमा शोक सभाको आयोजना गरिनेछ।

प्रदीप गिरी वि.सं. २००४ साल असोज २४ गते गोवर्धन पुजाका दिन सिरहा जिल्लाको वस्तिपुरमा जन्मिएका थिए। गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका थिए।

राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्याता उनी नेपालमा राजनीतिक दलहरू प्रतिबन्धित भएको समय बनारसबाट नेपाली कांग्रेस पार्टीमा आबद्ध भएका थिए।

कांग्रेसले गिरीलाई 'महान दार्शनिक नेता' भन्दै उनको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको बताएको छ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज २ बजेसम्म गिरीको शवलाई पार्टी कार्यालयमा राखी त्यसपछि दाहसंस्कारका लागि पशुपति आर्यघाट लगिनेछ।

भदौ ५, २०७९ आइतबार १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।