सानेपामा प्रदीप गिरीको अन्तिम 'विश्राम'

काठमाडौंः कांग्रेस नेता तथा सांसद प्रदीप गिरीले गए राति साढे ९ बजे अन्तिम श्वास फेरे। प्रखर समाजवादी चिन्तकका रूपमा चिनिएका गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सयौँको भीड जम्मा भएको छ।
पार्टी कार्यालय सानेपामा कांग्रेससहित अन्य दलका नेता, कार्यकर्ता तथा सर्वसाधारण र सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिति छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गिरीलाई माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे। उनले गिरीको पार्थिव शरीरमाथि पार्टीको झण्डा पनि ओढाए।
देउवासँगै पार्टी उपसभापति धनराज गुरुङ र पूर्णबहादुर खड्का तथा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल थिए। उनीहरूले पनि माल्यार्पण गरेर गिरीलाई अन्तिम विदाई गरे।
श्रद्धाञ्जली सभामा पुगेका कांग्रेस नेता अर्जुननरसिंह केसीले गिरी कुनै पद र प्रतिष्ठाको लागि नभएर अन्तिम समयसम्म पनि आफ्नो विचार समाजका लागि निरन्तर पस्किने नेता भएको बताए।
पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेसम्म श्रद्धाञ्जली सभा हुनेछ। त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिनेछ।
भदौ ५, २०७९ आइतबार १२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।