मेडिसिटीमा श्रद्धाञ्जली दिएपछि गिरी शव पार्टी कार्यालय सानेपा लगियो

मेडिसिटीमा श्रद्धाञ्जली दिएपछि गिरी शव पार्टी कार्यालय सानेपा लगियो

काठमाडौंः मेडिसिटी अस्पताल नख्खुमा बिहान ९ बजेदेखि श्रद्धाञ्जलीका लागि राखिएको प्रदीप गिरीको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपातर्फ लगिएको छ। कांग्रेस संसदीय दलका अनुसार पार्टी कार्यालयमा दिउँसो २ बजेसम्म शवलाई श्रद्धाञ्जलीका लागि राखिनेछ।

प्रखर राजनीतिक चिन्तकका रूपमा चिनिएका गिरी लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए। उनी विगत तीन सातादेखि मेडिसिटीमा उपचाररत थिए। शनिबार राति ९ बजेर २९ मिनेटमा उनको निधन भएको थियो।

मेडिसिटी अस्पतालमा बिहान श्रद्धाञ्जलीका लागि पुगेका कांग्रेस सांसद सञ्जय गौतमले प्रदीप गिरीको निधनको क्षति युगौँ युगसम्म पनि पूर्ति गर्न गाह्रो भएको बताएका छन्। 'उहाँ एउटा निष्ठावान्, इमान्दार, कर्तव्यनिष्ठ समाजवादी चिन्तक हुनुहुन्थ्यो। उहाँ गान्धीजीबाट अभिप्रेरित र दीक्षित हुनुहुन्थ्यो', उनले भने।

समावलाई समाजवादी बाटोमा लैजाने, नेपालको समाजवादी मोडेल के हुने जस्ता विषयमा चिन्तन गर्ने उनले बताए। 'उहाँले दिएको विचार उहाँले दिएको दर्शक अब समकालीन नेपाली राजनीतिमा त्यो स्तरको चिन्तक र त्यो स्तरको विचारक हामी देख्दैनौँँ', उनले भने।

सांसद सरिता गिरी लगायत विभिन्न अन्य दलका नेता कार्यकर्ताहरू प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी पुगेका थिए। यस्तै मेडिसिटीका अध्यक्ष उपेन्द्र महतो पनि सभामा सहभागी थिए।

भदौ ५, २०७९ आइतबार १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।