निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नगर्न आयोगको निर्देशन

काठमाडौंः निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ। मङ्सिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न/नगराउन आयोगले निर्देशन दिएको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा त्यस्ता योजना तथा कार्यक्रमले मतदातालाई प्रभावित पार्नसक्ने र समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा प्रत्यक्ष असर पार्न सक्ने देखिएकाले विपद् वा महामारीको पूर्वतयारी वा कुनै विपद्को अवस्था परी विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्नुपर्ने वा मानवीय सहायता प्रदान गर्नुपर्ने वा स्वास्थ्य महामारीको अवस्थामा सोको सामना गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्ने विषयबाहेक कुनै पनि प्रकारका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न/नगराउन आग्रह गरिएको छ।
भदौ ५, २०७९ आइतबार ११:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।