पहिरोले मकवानपुरका विभिन्न सडकखण्ड अवरुद्ध

पहिरोले मकवानपुरका विभिन्न सडकखण्ड अवरुद्ध
फाइल तस्बिर

काठमाडौंः गए रातिको वर्षाका कारण आएको पहिरोले मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन्। सिस्नेरी सडकखण्ड र कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। प्रहरीका अनुसार पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन्।

हेटौंडाबाट ललितपुर हुँदै काठमाडौं जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा कान्ति लोकपथमा पनि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भट्टेडाँडामा गए राति वर्षासँगै आएको पहिरोले सडकखण्ड अवरुद्ध भएको हो।

यस्तै उक्त सडकखण्डअन्तर्गत मकवानपुरगढी गाउँपालिकाको बगुवा खोलामा पनि पहिरो गएको छ। उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार जिल्लाको त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र कुलेखानी–फाखेल सडकखण्डमा भने सवारीसाधन सञ्चालनमा रहेको छ।

भदौ ५, २०७९ आइतबार १०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।