'निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित हुँदैन' : खेलकुदमन्त्री गहतराज

काठमाडौंः युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन नहुने जानकारी दिएका छन्। प्रतियोगिता तयारीका बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार साँझ पोखरामा आयोजना गरेको उच्चस्तरीय छलफल कार्यक्रममा मन्त्री गहतराजले यस्तो बताएका हुन्।
निर्वाचनभन्दा एक महिनाअघि नै राष्ट्रिय खेलकुद सम्पन्न हुने हुँदा निर्वाचन कार्यतालिकालाई असर नपार्ने उनले दावी गरे।
उनले भने, “राष्ट्रिय खेलकुदका लागि सरकारले बजेट निकासा गरिसकेको छ। यसका लागि सरकारको खर्च समेत भइसकेको छ। निर्वाचन आयोगसँग समेत परामर्श गरेर राष्ट्रिय खेलकुद तय गरिएकाले यसलाई निर्वाचनले असर गर्दैन, आयोजक प्रदेशका हिसाबले तपाईंहरू तयारीमा लाग्नुहोस्।”
उनले प्रतियोगिताको तयारी, खेलाडी र खेल खेल्ने ठाउँको व्यवस्थापकीय आधारभूत दायित्व केन्द्र सरकारको रहे पनि प्रदेश सरकारले आफ्नो प्रदेशको टोली सक्षम र बढीभन्दा बढी पदक जित्ने गरी तयारीका काम गर्नुपर्ने बताए। उनले भने, “गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद यस क्षेत्रका लागि महत्त्वपूर्ण अवसर हो।”
मन्त्री गहतराजलले प्रतियोगिताका लागि निर्माण गरिने भनिएका स्वीमिङ, सुटिङलगायतका खेल पूर्वाधार विविध कारणले निर्माण गर्न नसकिए पनि राष्ट्रिय खेलकुद सम्पन्नपछि समेत त्यसलाई अघि बढाइने प्रतिबद्धता जनाए।
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिता सम्पन्न गराउने क्रममा आइपर्ने समस्या र कठिनाइलाई समाधान गर्न साझा संयन्त्र बनाउनुपर्ने बताए। यस्तै विगतका संस्करणको अनुभवलाई समेटेर सामूहिक दायित्वका साथ प्रतियोगिता सफल बनाउनुपर्ने उनले बताए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राष्ट्रिय खेलकुद सफल बनाउन महानगर राखेप र प्रदेश सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।
राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी गराउँदै कार्यतालिकाअनुसार काम अघि बढाइएको जानकारी दिए।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको परिषद्ले जनाएको छ। राष्ट्रिय खेलकुदका ३६ र दुई प्रदर्शनी खेलहरू छन्।
प्रतियोगितामा चार सय सात स्वर्ण पदकका लागि खेलाडबीच प्रतिस्पर्धा हुनेछ। टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा एक टोलीमा सात सय आठ जनासम्म खेलाडी सहभागी हुने भएकाले प्रतियोगितामा कूल सात हजार सात सय ८८ खेलाडीमात्र सहभागी हुने गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले जानकारी दिए।
भदौ ५, २०७९ आइतबार ०८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।