प्रदीप गिरीको शव २ बजेपछि पशुपति आर्यघाट लगिने, राष्ट्रपति-प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौंः नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको शवलाई आज दिउँसो २ बजेपछि पशुपति आर्यघाट लगिने भएको छ। नेता गिरीको ७५ वर्षको उमेरमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ बजेर २९ मिनेटमा निधन भएको थियो।
नेपाली कांग्रेस संसदीय दलका अनुसार उनको शवलाई आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ।
यस्तै साढे ११ देखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने सचेतक मीन विश्वकर्माले जनाएका छन्। पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेपछि उनलाई आजै अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिनेछ।
प्रखर राजनीतिक चिन्तकका रूपमा चिनिएका गिरी लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए। उनी विगत तीन सातादेखि मेडिसिटीमा उपचाररत थिए।
गिरीको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि देशका राजनीतिक दलका शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छिन्। ‘समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदीप गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, राष्ट्रपति भण्डारीले ट्वीट गरेकी छिन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले गिरीको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन्।
यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गिरीको निधनले समकालीन नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको बताएका छन्।
भदौ ५, २०७९ आइतबार ०८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।