महिला तथा बालबालिका कार्यालयको ताला ६ वर्षपछि फोडियो

काठमाडौंः महिला तथा बालबालिका कार्यालय खोटाङको ताला ६ वर्षपछि फोडिएको छ। गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि ताला लगाइएको थियो।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन्।
कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएका हुन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र प्रहरीको रोहबरमा कार्यालयमा रहेका सामग्री थन्क्याइएको छ। आठ कोठे कार्यालयमा दुई कोठामा सामग्री राखेर अन्य कोठालाई ‘आइसोलेशन वार्ड’ निर्माण गर्न लागिएको छ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले उक्त कार्यालयको भवनलाई आइसोलेशन बनाउने तयारी गरेको छ।
गत साउन २५ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा बसेको जिल्ला कोभिड तथा सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले सो भवनलाई आइसोलेशन बनाउने निर्णय गरेको थियो।
भदौ ५, २०७९ आइतबार ०७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।