औषधि व्यवसायलाई मर्यादित, सेवामुलक र जनउत्तरदायी बनाउनुपर्छ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले औषधि व्यवसायको क्षेत्रलाई मर्यादित, सेवामुलक तथा जनउत्तरदायी बनाउनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित नेपाल औषधि थोक व्यवसायी संघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै केसीले गुणस्तरिय औषधि उपभोक्तासम्म पु¥याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए।
‘औषधि भन्ने वित्तिकै जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएका कारण औषधि जगत निकै संवेदनशील हुनुपर्छ,’ राज्यमन्त्री केसीले भने, ‘अहिले पनि औषधिको मूल्यमा एकरूपता नभएको गुनासो आइरहेका छन्। यसलाई हल गर्नुपर्ने देखिन्छ।’
राज्यमन्त्री केसीले औषधि जगतमा मौलाउँदै गएको अनेकन विकृतिको अन्त्य गर्नुपर्ने बताउनुभयो। सुलभ मूल्यमा गुणस्तरिय औषधि सेवन गर्न पाउने अधिकारलाई अक्षुण राख्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बाँस्कोटाले औषधि व्यवस्था विभाग निरीह बन्दा औषधि बजारमा विकृति बढेको बताए।
यसैबीच महाधिवेशनबाट नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा पुनः शिवराज बास्कोटा सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा श्रीराम पराजुली, माधव अधिकारी, महासचिबमा गणेश नेपाल, सचिवमा सुरज पौडेल, कोषाध्यक्ष विनोदप्रसाद ढकाल लगायत रहेका छन्।
भदौ ४, २०७९ शनिबार २१:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।