वर्षमानले महासचिवमा जनार्दनलाई रोक्दा नेतृत्वमा देव गुरुङको छलाङ

काठमाडौँ : कि आफैँ बन्ने कि जनार्दन शर्मालाई रोक्ने वर्षमान पुनको ढिपीले महाधिवेशन सकिएको ८ महिनापछि माओवादी केन्द्रको दोस्रो शक्तिशाली महासचिव पद देव गुरुङले पाएका छन्।
पदाधिकारीमा पटक-पटक सहमति जुटाउन प्रयास गरे पनि पुन र शर्माबिच सहमति हुन नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्को विकल्पमा जाँदै पार्टीमा चौथौँ बरीयतामा रहेका गुरुङको पक्षमा उभिए।
पार्टी बैठकमा २० पदाधिकारीको नाम वाचन गर्दा पुन शर्मालाई महासचिवमा रोक्न सकेकोमा खुसी देखिन्थे। शर्माले पार्टी अध्यक्षको प्रस्तावलाई सहजै स्विकार्दै समर्थन गरे।
नारायणकाजी श्रेष्ठ दोस्रो बरियतासहित वरिष्ठ उपाध्यक्षमा निर्विकल्प थिए। कि महासचिव कि उपाध्यक्ष भनिएकी पम्फा भुसालको साटो उपाध्यक्ष आफू निकट कृष्णबहादुर महरालाई नै बनाए प्रचण्डले।
महासचिव भनिएका भुसाल र हरिबोल गजुरेल उपमहासचिव भए। पुन, शर्मासँगै गिरिराजमणी पोखरेल, शक्ति बस्नेत, मातृका यादव उपमहासचिव भए।
दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की सचिव भए। श्रीराम ढकाल कोषाध्यक्ष चयन भए। उनी माओवादीको कार्यालय सचिव थिए।
चाँडै नै पार्टीको विधान महाधिवेशन आयोजना गर्ने भएकाले अहिलेको पदाधिकारी तदर्थ प्रकारको रहेको उपाध्यक्ष बनेका महराको दाबी थियो।
२१ सदस्यीय पदाधिकारीमा महिला जम्मा एक जना हुनु अनि दलित नसमेटिँदा विरोध हुने पक्कापक्की छ। आजकै बैठकले १ सय २५ सदस्यीय पोलिटव्युरो अनि ४१ सदस्यीय स्थायी कमिटीको नाम समेत टुङ्ग्याएको छ।
भदौ ४, २०७९ शनिबार १७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।