माओवादीले बनायाे १७ सदस्यीय घोषणापत्र मस्यौदा समिति, यी नेतालाई जिम्मेवारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि घोषणा पत्र तयार गर्न १७ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ।
शनिबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चाकरमीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको जानकारी दिए।
समितिका सदस्यहरूमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, लिलामणि पोखरेल, शक्ति बस्नेत, गणेश शाह, परशुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौधरी, भीमा ढुंगाना र जगत सम्पदा रहेका छन्।
यस्तै, बैठकले विद्यार्थी संगठनमा देखिएको दुई कित्तालाई मिलाउने जिम्मेवारी अध्यक्ष पुष्पकाल दाहाललाई दिएको छ।
त्यसैगरी, पार्टीले भदौ ८ गतेदेखि विभिन्न प्रदेश र समितिहरूको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बैठकले ८ गते मधेश प्रदेश, ९ गते गण्डकी प्रदेश, १० गते प्रदेश नम्बर १, ,११ गते लुम्बिनी प्रदेश, १२ गते बागमती प्रदेश, १३ गते विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको महराले बताए।
बैठकले पार्टीका पदाधिकारीहरूको पनि टुंगो लगाएको छ। अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पहिले नै तोकिसकेको माओवादीले अहिले उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङलाई तोकेको छ।
यस्तै, विशेष महाधिवेशनसम्मका लागि तोकिएको भनिएको पार्टीको उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मातृका यादव र हरिबोल गजुरेलको नाम छ।
सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीको नाम प्रस्ताव गरेको बैठकले कोषाध्यक्षमा श्रीराम ढकालको नाम तय गरेको छ।
भदौ ४, २०७९ शनिबार १७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।