कांग्रेसले भदौ १० गतेबाट ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने

कांग्रेसले भदौ १० गतेबाट ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ।

शनिबार सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले अभियानबारे जानकारी गराएका हुन्।

तीन चरणको अभियानको पहिलो चरण भदौ १० गतेबाट २४ गते सञ्चालन हुने उनले बताए। दोस्रो चरणमा समानुपातिकको प्रचार गर्ने र अन्तिम चरणमा उम्मेदवारी तय भएपछि हुनेछ।

अभियान अन्तर्गत जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र कांग्रेस नेतृत्वमा भएका उपलब्धि र आगामी योजनाको विषयमा जानकारी गराउने डा. महतले बताए।

यसैबीच, तालमेलको सन्दर्भमा जिल्ला र क्षेत्रको अवस्थाबारे जानकारी लिने तथा कार्यकर्ता र जनताको अभिव्यक्ति बुझ्नुका साथै पार्टीको पक्षमा माहोल बनाउने अभियानको उदेश्य रहने उनको भनाइ छ।

अभियानमा ७७ जिल्लामा केन्द्रीय समितिका सदस्यहरू जाने र जिल्ला समितिका बैठकहरू डाकेर प्रचारप्रसार सुरु गर्ने कार्यक्रम रहेको छ। त्यहाँ प्रदेश र जिल्ला तहका सदस्यहरू सहभागी हुने उनले बताए।

गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान चलाएको थियो।

भदौ ४, २०७९ शनिबार १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।