एमसीसी र बिआरआई नेपालका लागि सहायता सम्झौता हुन् : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी र बिआरआई सम्झौता दुवै नेपालका लागि सहायता सम्झौता भएको बताएका छन्।
काठमाडौं क्षेत्र नम्बर ८ ‘ख’ को प्रदेशसभा सम्मेलनलाई सम्बोधन गर्दै थापाले नेपालको हित हुने गरी एमसीसी सम्झौता गरिएको बताउँदै चीनसँगको बिआरआई सम्झौतासँग तुलना गरेका हुन्।
आफूहरू सरकारमा हुँदा वा नहुँदा एमसीसीको बारेमा एउटै धारणा बनाएको भन्दै महामन्त्री थापाले कम्युनिष्ट पार्टीहरूले विचार बदलेको जिकिर गरे।
एमसीसी सम्झौताको प्रक्रिया विगतमा माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला सुरु भएर झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई हुँदै अहिले शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला टुङ्गिएको उनले स्मरण गराए।
नेपाली कांग्रेसकै नेता परराष्ट्रमन्त्री भएका बेला चीनसँगको सहयता सम्झौता बिआरआई गरेको स्मरण गराउँदै थापाले मुलुकको हितका लागि विगतमा पनि विभिन्न मुलुकबाट सहयोग लिने गरेको स्पष्ट पारे।
कांग्रेसले सबैसँग मित्रवत् सम्बन्ध राखेर मिलेर काम गर्न चाहेको थापाले स्पष्ट पारेका छन् । नेपाली कांग्रेसले नै एसपीपी सम्झौता गतल छ भनेर खारेज गराएको उनले बताए।
फरक प्रसङ्गमा थापाले चुनावपछि सत्तारुढ गठबन्धन एक ठाउँमा रहने के ग्यारेन्टी छ भनी प्रश्न गरे। अहिले तालमेल गरेर सत्ता गठबन्धनमा रहेका दललाई मत मागे पनि चुनावपछि पनि गठबन्धन कायम रहने ग्यारेन्टी नभएको बताए।
चुनावअघि तालमेल गर्दा दलहरूबीच न्यूनतम विषयमा भने साझा धारणा हुनुपर्ने महामन्त्री थापाको भनाइ छ। सिट बाँडफाँटका लागि बनेको कार्यदलका सदस्यसमेत रहेका थापाले गठबन्धनमा सिट बाँडफाँट गर्दा ०७४ सालमा जितेको ठाउँलाई मात्र आधार मान्न नहुने थापाले बताए।
भदौ ४, २०७९ शनिबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।