सत्ता गठबन्धन बैठक : ‘होमवर्क’ पूरा गर्न कार्यदललाई शीर्ष नेताको निर्देशन

सत्ता गठबन्धन बैठक : ‘होमवर्क’ पूरा गर्न कार्यदललाई शीर्ष नेताको निर्देशन

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँट गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा गर्न निर्देशन दिएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराएका थिए।

छलफलपछि शीर्ष नेताहरूले कार्यदलमै सिट बाँडफाँडको विषयमा साझा धारणा बनाउन निर्देशन दिएको बैठकपछि सञ्चारमन्त्रीसमेत रहेको कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘नेताहरुले कार्यदलले नै साझा धारणा बनाउन र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ,’ उनले भने, ‘अब कार्यदलले चाँडोभन्दा चाँडो सिट बाँडफाँडको काम पूरा हुने गरी छलफललाई अघि बढाउँछ।’

सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ । 

कार्यदलले २०७४ को निर्वाचन र २०७९ को स्थानीय तह निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँड गरेर अघि बढ्ने मापदण्ड तय गरेको छ।

भदौ ३, २०७९ शुक्रबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।