मकवानपुरमा करेन्ट लागेर ११ वर्षीय बालकको हात छिन्यो, प्राधिकरण भन्छ– ‘बर्खामा पोल ढल्किहाल्छ नि!’

मकवानपुर : जिल्लाको थाहा नगरपालिका–९ मा करेन्ट लागेर एक बालकको हात छिनेको छ।
चित्लाङ्गको खलिवनमा करेन्ट लाग्दा ११ वर्षीय सुदिप तामाङ्गको शरीरको विभिन्न भागमा चोट लाग्नुका साथै हात छिनेको हो।
घाइते तामाङ्गको काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ।
शुक्रबार दिउँसो घर नजिकै खेल्ने क्रममा विजुलीको पोलमा चंगा अड्केको र त्यसलाई झिक्न खोज्दा करेन्ट लागेको आफन्तले बताएका छन्।
खालिवनमा केही समयअघि मात्र ३३ हजार केभिए प्रसारण लाइन निर्माण भएको थियो । सोही प्रसारण लाइनको पोल ढल्केर तारले जमिनमा छोएको थियो ।
यस विषयमा प्राधिकरणसमक्ष गुनासो गर्दा पनि सम्बोधन नभएको स्थानीय सानुकान्छा तामाङ्गले बताए। उनका अनुसार गाउँलेहरूलाई प्राधिकरणले तारमा करेन्ट प्रवाह गरेको विषयमा पनि थाहा छैन।
‘प्राविधिकसहितको निरीक्षणमा आएको प्राधिकरणले टोलीले तार र पोल व्यवस्थित नगरी लाइन नछोड्न जनाएका थिए,’ उनले भने, ‘कहिले लाइन छोडे हामीलाई थाहा भएन।’
यस विषयमा नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईसँग बुझ्दा उनले बर्खाको समयमा सबै तिरको माटो बग्ने भएकाले पोलहरू ढल्किने जवाफ दिए।
पोल र तारमा आएको समस्याको विषयमा वितरण केन्द्रले हेर्ने उनले बताए। यद्यपि थप बुझेपछि मात्र आफूले जवाफ दिनसक्ने उनको भनाइ छ।
भदौ ३, २०७९ शुक्रबार १९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।