डा बाबुराम अनुशासनहीन र एकात्मक सोचका नेता भएको उपेन्द्रको आरोप

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीले कारबाही गरेर निकालेको बाबुराम भट्टराई समूहलाई गम्भीर पाँच आरोप लगाएका छन्। उनले पार्टीको जारी राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवेदन राख्दै बाबुराम र उनको गुटका नेताहरूलाई केन्द्रीकृत सोच र अराजकता भएको आरोप लगाएका छन्।
प्रतिवेदनमा उनले पहिला पार्टीको घोषणा पत्र र विधान स्वीकार गरेर एकता गर्न आएको तर पछि अस्वीकार गरेको आरोप लगाएका छन्। सँगै पार्टीभित्र मतभेद भएमा पार्टीको संरचनाभित्र बहस गर्नुपर्नेमा सामाजिक सञ्जालमा बहस गर्ने अनुशासनहीन काम गरेको आरोप समेत लगाए।
'पार्टीको घोषणा पत्र र विधानमा सहमति जनाएर एकताबद्ध भएका केही नेताहरूले विभिन्न बहानामा कार्यान्वयन गर्न अस्वीकार गरे,' राजनीतिक प्रतिवेदनमा लेखिएको छ' पार्टीभित्र वैचारिक बहस गर्नुको साटो सामाजिक सञ्जालमा बहस गर्ने अराजकता र अनुशासनहीनता देखा पर्यो।'
उन डा भट्टराई र उनी निकट गुटका अस्वस्थ गतिविधीका कारण पार्टीलाई चलायमान बनाउन गम्भीर समस्या आएको र कतिपय प्रदेश र जिल्लामा पार्टी जीवन ठप्प भएको समेत दाबी गरेका छन्।
पार्टीमा सङ्घीय संरचना छाडेर एकात्मक रूपमा प्रादेशिक संरचना बाइपास गरेर अधिकार क्षेत्रमा हस्तक्षेप गरेको र केन्द्रले नै पालिका तहसम्म चलाउने प्रयास भएको समेत उनको दाबी छ।
उनले पार्टीमा एक व्यक्ति एक पदको अवधारणा कार्यान्वयन गर्नुपर्ने, केन्द्रदेखि जिल्ला तहसम्म पुनर्गठन गरेर चलायमान बनाउनु पर्ने, पार्टीका विभाग र भातृ सङ्गठन पुनर्गठन गर्नुपर्ने भन्दै नामहरू समेत प्रस्ताव गरेका छन्।
उता पार्टीको कारबाहीमा परेपछि बाबुरामले भने नयाँ पार्टी दर्ता गरेर आगामी निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गर्दै एकै निर्वाचन चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमति गरिसकेका छन्।
भदौ ३, २०७९ शुक्रबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।