सुकेटार विमानस्थलबाट अढाई महिनापछि उड्यो विमान

काठमाडौंः ताप्लेजुङको सुकेटार विमानस्थलबाट अढाई महिनापछि उडान भएको छ। प्रतिकूल मौसमका कारणले अवरुद्ध विमानस्थलबाट आज नेपाल एयरलाइन्सले उडान भरेको हो।
विमानले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए। उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ।
यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यालयले जनाएको छ। ताप्लेजुङबाट काठमाडौंसम्मका लागि हाल रु नौ हजार दुई सय भाडादर छ।
सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो। यात्रुले टिकट बुकिङ गरे पनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो।
लामो समय अवरुद्ध भएको उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन्। उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुनेछ।
भदौ ३, २०७९ शुक्रबार १०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।