'फेसबुक युद्ध'को तेस्रो दिन: 'जबसम्म फोहोर उठ्दैन, तबसम्म मेरो प्रहार भइरहन्छ...'

'फेसबुक युद्ध'को तेस्रो दिन: 'जबसम्म फोहोर उठ्दैन, तबसम्म मेरो प्रहार भइरहन्छ...'

काठमाडौंः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीचको 'फेसबुक युद्ध' तेस्रो दिन पनि जारी छ। आज बिहान धरान उपमहानगरका मेयर साम्पाङले फेसबुक लाइभमार्फत काठमाडौंको फोहोर नउठेसम्म आफ्नो प्रहार जारी रहने बताएका छन्।

उनले भने, 'सत्य कुरा स्वीकारौँ। जाबो फोहोर सोहोर्न नसक्नेले, नेपालको राजधानीलाई दुर्गन्धित बनाएर डुङडुङ गह्नाउने बनाउनेहरूले ठूलो गफ गरेर हुन्छ। नहुने कुरा! सबै जनालाई म भन्न चाहन्छु, त्यहाँको महानगरपालिका के के जाति सबैलाई। जबसम्म फोहोर उठ्दैन, तबसम्म मेरो प्रहार भइरहन्छ।'

साम्पाङले काठमाडौं शहर राजधानी भएकाले सबैको साझा शहर भएको बताए। पर्यटकहरू काठमाडौं हुँदै नेपाल प्रवेश गर्ने भएकाले दुर्गन्धित शहरमा पर्यटक नआउने पनि उनले बताए।

'फोहोरमा फोहोरी राजनीति नगर्नुहोला, म त्यही भन्न चाहन्छु', उनले भने, 'काम गरौँ न काम गरौँ। फोहोर सोहोरौँ। सफा बनाऔँ। सरसफाइ गरौँ। यसमा के छ र त्यस्तो? कसैसँग मेरो आग्रह पूर्वाग्रह केही पनि छैन।'

दोस्रो दिन पनि बालेनलाई 'सुझाव' दिँदैछन् हर्क साम्पाङ

यस्तै उनले फेसबुकमा मात्र सक्रिय हुनेहरूलाई फोहोर सोहोर्न आग्रह गरेका छन्। 'फेसबुकमा मुख बजाउने साथीहरू काठमाडौंमा हुनुहुन्छ भने तपाईंहरू पनि फोहोर सोहोर्नूस्। त्यहाँ राष्ट्रिय युवा संघ छन् नि। उहाँहरूसँग जानूस्। ती युवाहरूले गरिरहनुभएको छ त', उनले भने, 'गर्नुपर्ने निकायले पनि गर्नुपर्यो। काम गर्नु छैन, हावामा करायो, बस्यो।'

साम्पाङले फोहोरलाई 'फोहोर' भन्न पनि सुझाए। 'फोहोर डङ्गुर छ त्यसलाई फोहोर भन्नुस्। धरानले कसरी म्यानेज गरेको छ त्यो सिक्नु नि अलिक। अस्ति शहरी विकासमन्त्री मेटमणि चौधरीसम्म आए धरान सिक्नलाई', हर्कले भने, 'फोहोरबाट हामीले ग्यास बनाउँदैछौँ। मल बनाउँदैछौँ। त्यो कुरा सिक्नु नि अलिक। सिक्नु छैन त्यतिकै ठूलो कुरा गर्ने, इगो हर्ट हुने तपाईंहरूलाई हावामा?'

लाइभको अन्तिममा हर्कले यो भिडियो आफ्ना विरोधीहरूलाई भएको समेत बताए। उनले अन्तिममा पनि काठमाडौंको फोहोर नसोहोरिएसम्म प्रहार जारी रहने बताए। यस्तै अब धरान मात्र नभएर अरू पालिकाले पनि दबाब दिनुपर्ने उनले बताए।

काठमाडौं महानगरका मेयर बालेन पहिलो दिन नै साम्पाङको पोस्टमा कमेन्ट गरेयता चुप छन्। यद्यपि साम्पाङ भने धावा बोलेको बोलेकै छन्।

हिजो दिनभरि पनि साम्पाङले काठमाडौं महानगर र बालेनलाई लक्षित गर्दै थुप्रै फेसबुक पोस्ट गरेका थिए। सामाजिक सञ्जालमा यो जुहारी अहिले भाइरल छ। 

भदौ ३, २०७९ शुक्रबार ०९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।