एकैदिन चारपटक सर्यो माओवादीकाे स्थायी समिति बैठक

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बिहीबार चारपटक सरेको छ।
पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले बोलाएको बैठक विभिन्न बहाना बनाउँदै चारपटक सारेको हो।
बुधबार स्थायी समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता कृष्णबहादुर महराले बिहीबार विहान ८ बजे बस्ने स्थायी समिति बैठकले पदाधिकारीलाई अन्तिम रूप दिने बताएका थिए।
तर, बिहीबार सुरुमै बैठक ९ बजे बस्ने भनेर तोकियो। तयारी नपुगेको भन्दै उक्त बैठकलाई अपरान्ह ४ बजेको लागि सारियो। पुनः प्रतिनिधिसभा बैठकमा नागरिकता सम्बन्धी विधेयकलाई बहाना बनाएर साँझ ६ बजे पुर्याइयो स्थायी समिति बैठक।
अन्ततः साँझ ६ बजे पनि बैठक बस्न सकेन। नागरिकता सम्बन्धी विधेयकमा २८ सांसदले मत विभाजनको माग गरेसँगै प्रतिनिधिसभा बैठक लम्बिएपछि स्थायी समिति बैठक बस्न नसकेको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले उकेरालाई जानकारी दिए।
बैठक शुक्रबार बिहान साढे आठ बजेका लागि बोलाइएको उनले बताए। बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी प्रस्ताव गर्नेछन्।
माओवादीको पदाधिकारीमा विवाद हुँदा निर्णय दिन अध्यक्ष पुष्पकमल दाहाललाई अप्ठेरो परेको छ। महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा पछि हट्न नचाँहदा पदाधिकारी व्यवस्थापनमा समस्या छ।
दुई नेताको विवादमा देव गुरुङलाई महासचिव बनाएर मध्यमार्गी बाटो अपनाउने प्रयासमा दाहाल छन्। गुरुङको नाममा विवाद नहोस् भनेर आकांक्षी फकाउन दाहालले समय लिएका हुन्।
भदौ २, २०७९ बिहीबार २१:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।