‘सञ्चो’ बनाउने कम्पनीका महिला कामदारमाथि सुपरभाइजरकाे ‘बिसन्चो’ व्यवहार

काठमाडौ : ‘सन्चो’ उत्पादक जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको खुलासा भएको छ।
कम्पनीको कोटेश्वर शाखामा कार्यरत महिला श्रमिकमाथि सन्चो शाखाका सुपरभाइजर हरि चापागाईंले लामो समयदेखि पटक–पटक दुर्व्यवहार गरेको भन्दै महिला श्रमिकहरूले कारबाहीको माग गरेका छन्।
यौनजन्य दुर्व्यवहार भएकोबारे सन्चो शाखा अधिकृत उषा रिजाल र कम्पनीका महाप्रबन्धक संगीता यादवलाई लिखित रूपमा जानकारी दिँदा दुर्व्यहारमा पर्नेमाथि नै कारबाही गरिएको उनीहरूद्वारा जारी विज्ञिप्तमा उल्लेख छ।
आन्तरिक रूपमा व्यवस्थापनबाट उजुरीको आवश्यक सुनुवाइ नभएपछि गत वैशाख २५ गते प्रशासन कार्यालय काठमाडौमा गरिएको उजुरी गरिएकोमा हालसम्म कुनै कारबाही नभएपछि पीडितहरूले बिहीबार प्रेस विज्ञप्तिमार्फत घटना सार्वजनिक गरेका हुन्।
जिल्ला प्रशासन कार्यालयबाट कारबाही नभएपछि पीडितहरूमाथि नै डर, धाक, धम्की र व्यवस्थापकबाट अभद्र, अमर्यादित र अमानवीय व्यवहारको सामना गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।
पीडकभन्दा पीडितलाई नै कारबाही गर्ने व्यवस्थापकप्रति कार्यस्थलमा हुने यौनजन्य दुर्व्यहार निवारण ऐन, २०७१ अनुसार कारबाहीका लागि उनीहरूले आग्रह गरेका छन्।
साथै पीडितहरूले कम्पनीले अहिलेसम्म नियुक्ति पत्र, न्युनतम तलब र परिचयपत्रसमेत प्रदान नगरेको समेत खुलासा गरेका छन्।
भदौ २, २०७९ बिहीबार १५:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।