काठमाडौंको फोहर व्यवस्थापन गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

काठमाडौंः प्रतिनिधि सभाको आजको शून्य समयमा सांसदहरूले काठमाडौंमा फोहर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद अमृता थापामगरले काठमाडौंमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएको भन्दै ध्यानाकर्षण गराएकी हुन्।
फोहरका कारण नेपालका मुख्य शहर कुरूप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिइन्।
सांसद कलिना खातुनले फोहर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र सङ्घ सबै जुट्नुपर्ने बताइन्।
यस्तै नागरिकता विधेयकका विषयमा सांसद अञ्जना विसङ्खेले छलफल गरेर आवश्यक संशोधन गरी सम्मानजनक तरिकाले पठाउनुपर्ने बताइन्। सांसद कृष्णगोपाल श्रेष्ठले नागरिकता विधेयकमा गम्भीर त्रुटि देखिएपछि राष्ट्रपतिले संसद्समक्ष फिर्ता पठाएपछि त्यसका विषयमा गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए।
सांसद खेमप्रसाद लोहनीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनु संवैधानिक अधिकार भएको र विवाद गर्नसाथ नागरिकता दिने व्यवस्था राख्न नहुने बताए।
भदौ २, २०७९ बिहीबार १३:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।