आज नागरिकता विधेयक पारित गर्ने तयारी, यस्तो छ संसद्को कार्यसूची

काठमाडौंः प्रतिनिधि सभाको आजको बैठकले नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ। आज गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पारित गर्न प्रस्ताव पेश गर्नेछन्।
प्रतिनिधि सभाको एघारौं अधिवेशनको ५६औं बैठकको कार्यसूचीअनुसार गृहमन्त्री खाँणले “सम्माननीय राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुर्नविचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै “सम्माननीय राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्” भनी अर्को प्रस्ताव प्रस्तुत गर्नेछन्।
आज प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्नेछ।
आज सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम १० वा सोभन्दा बढी बठैकमा अनुपस्थित सांसदहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेश गर्नेछन्।
यस्तै आज प्रधानमन्त्री शेरबहादुर देउवाले “राष्ट्रिय महिला आयोगको चौधौं वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ आसार)” पेश गर्ने कार्यक्रम रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जनाएका छन्।
भदौ २, २०७९ बिहीबार ०८:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।