दोस्रो दिन पनि बालेनलाई 'सुझाव' दिँदैछन् हर्क साम्पाङ

काठमाडौंः बुधबार राति सामाजिक सञ्जालभर धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको जुहारीको चर्चा भयो। हर्कले आफ्नो कारण काठमाडौंमा फोहोर उठाउने काम सुरु भएको भन्दै फेसबुकमा एक स्टेटस हालेपछि बालेनले पनि हर्कको चुनाव चिह्न लौरोका कारण आफूले चुनाव जितेको भन्दै व्यङ्ग्यात्मक कमेन्ट गरेका थिए।
हर्कले लेखेका थिए, 'जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ! कम से कम काम त सुरु गरे!' अनि बालेनले कमेन्ट गरेका थिए, 'हो नि...तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि।'
जुहारी यहीँबाट सुरु भएको थियो। त्यसपछि सामाजिक सञ्जार तातिहाल्यो। यसपछि बालेन त बोलेका छैनन्, हर्क भने 'फायर' खोलेको खोलेकै छन्। यो क्रम आज दोस्रो दिन पनि चलिरहेको छ।
आज बिहान उनले ठूला ठूला गफ होइन साना साना भए पनि काम गर्नू भनेर 'सुझाव' दिएका छन्। उनले लेखेका छन्, 'ठूला ठूला गफ र हुँकार होइन सानो सानो काम चाहिएको छ। हो त्यो गर्नू। जय काम!'
हर्कले आदेश मात्र दिएका छैनन्, आफूले मेयर निर्वाचित भएयताको एक सय दिनमा के-के काम गरे त्यो पनि बुँदागत रूपमा लेखेका छन्। र यो स्टेटस पनि उनको बालेन लक्षित स्टेटसमा आएका कमेन्टका आधारमा लेखेका हुन्। त्यहाँ कतिपयले उनलाई धरानमा चाहिँ के-के काम भयो भन्ने खालका प्रश्न गरेका थिए।
हर्कका अनुसार उनले श्रम संस्कृतिको क्रान्ति सुरु गरे, चार ठाउँबाट खानेपानीको मुहान थपे। यस्तै ६ लाख बिरुवा रोपेको र सरसफाइमा देखिनेगरी सुधार ल्याएको उनको दावी छ।
यसका साथै बाटो मर्मत र तटबन्ध र विपद् व्यवस्थापनमा काम गरेको उनले लेखेका छन्।
यस्तै अर्को पोस्टमा उनले धरान-तरहराबीचको बाटो तुरुन्तै बनाउन आदेश दिएको पनि उल्लेख गरेका छन्।
हर्कले बालेनलाई लक्षित गरी लेखेका स्टेटसहरू
भदौ २, २०७९ बिहीबार ०७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।