युवा सङ्घले चाबहिल–गौशाला क्षेत्रको फोहर उठायो

काठमाडौँ : राष्ट्रिय युवा सङ्घ नेपालले दबाबमूलक सरसफाइ अभियान अन्तर्गत बुधवार काठमाडौँस्थित चाबहिल–गौशाला क्षेत्रको फोहर सङ्कलन गरेको छ।
यूथ फोर्स विभागको व्यवस्थापनको सङ्घले आयोजना गरेको अभियानमा ६ टिपर फोहर सङ्कलन भएको थियो।
सङ्घले सम्बन्धित निकायलाई नैतिक दबाब दिन काठमाडौँका विभिन्न क्षेत्रमा थुप्रिएको फोहर सङ्कलन गर्ने अभियान सुरु गरेको थियो।
सङ्घले पहिलो दिन सोमबार नयाँ बानेश्वर र पुरानो बानेश्वर क्षेत्रमा थुपारिएको फोहर सङ्कलन गरेको थियो। अभियानको दोस्रो दिन मङ्गलवार कालोपुलमा थुप्रिएको फोहर सङ्कलन गरेको थियो।
सडकमा थुप्रिएको फोहोरले दुर्गन्ध बढ्नुका साथै विभिन्न रोगको खतरा बढेकाले राज्यलाई दबाब दिन फोहर सङ्कलन अभियान सुरु गरिएको सङ्घका अध्यक्ष किरण पौडेलले जानकारी दिए।
सङ्घका उपाध्यक्ष तथा यूथ फोर्स विभागका प्रमुख पुष्पराज श्रेष्ठले फोहर सङ्कलन अभियान उपत्यकाका विभिन्न क्षेत्रमा निरन्तर सञ्चालन गरिने र फोहर विसर्जन गर्ने स्थलसम्म पुर्याइने उनले बताए।
भदौ १, २०७९ बुधबार २२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।