छिमेकी लघुवित्त पनि नेशनल पेमेन्ट इन्टरफेसमा जोडियो

काठमाडौँ : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबिच सम्झौता भएको छ। सम्झौता पत्रमा छिमेक लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए।
सम्झौतापछि छिमेक लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्विच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
छिमेक लघुवित्तले आफ्ना बचत निक्षेप, कर्जाको किस्ता सङ्कलन लगायतका विभिन्न सङ्कलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबार आफ्ना तथा लाभग्राहीहरूका बैङ्क खाताहरू बिच सोझै गर्न सक्ने उल्लेख छ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपिआइमा ५९ सदस्य बैङ्क वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपी- पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैङ्क, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका ७४ गैर—बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट-प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।
भदौ १, २०७९ बुधबार १९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।