एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं : आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा १० खर्ब सात अर्ब ३१ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ। यो कुल चार दशमलव आठ प्रतिशत बराबरको वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

केन्द्रीय बैंकले सार्वजनिक गरेको सो आर्थिक वर्षको विवरणअनुसार अपेक्षित रुपमा नै रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९ दशमलव आठ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव दुई प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड पुगेको छ। 

अघिल्लो आवमा आठ दशमलव दुई प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भई तीन लाख ५४ हजार छ सय ६० पुगेको छ। अघिल्लो आवमा यस्तो सङ्ख्या ६२ दशमलब आठ प्रतिशतले घटेको थियो। 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा गत आवमा दुई लाख ८२ हजार चार सय ५३ पुगेको छ। अघिल्लो आवमा यो सङ्ख्या ४६ दशमलव आठ प्रतिशतले घटेको थियो।

समीक्षा वर्षमा खुद ट्रान्सफर चार दशमलव तीन प्रतिशतले वृद्धि भई रु ११ खर्ब १७ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर नौ दशमवल एक प्रतिशतले बढेको थियो।

भदौ १, २०७९ बुधबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।