खर्च विवरण नबुझाउने स्थानीय तह निर्वाचनका उम्मेदवारलाई आयोगले थाल्यो कारबाही

काठमाडौं : गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर अहिलेसम्म खर्चको विवरण नबुझाउनेलाई निर्वाचन आयोगले कारबाही सुरु गरेको छ।
चुनावमा उम्मेदवार बनेका एक लाख २३ हजार ७ सय ८३ जना व्यक्तिले अहिलेसम्म खर्च विवरण नबुझाएको आयोगले जनाएको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता उम्मेदवारलाई कारबाहीको प्रक्रिया सुरु गरिएको जनाएको हो।
आयोगले निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा एक महिनाभित्र नबुझाएका उम्मेदवार विरुद्ध के-कति कारणले तोकिएको समयभित्र विवरण नबुझाएको हो, सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा एक हप्ताभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ।
‘निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख १५ हजार १ सय ३१ जना र तोकिएको समयावधिभन्दा ढिलोगरी निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६ सय ५२ जना उम्मेदवारलाई तोकिएको समयावधिभित्र के कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो? आफ्नो सफाइ सहितको स्पष्टीकरण ७ (सात) दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले आदेश दिएको छ’, आयोगले जारी गरेको सूचनामा भनिएको छ।
तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा उनीहरुलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो? भनी आयोगले सोधेको छ।
निर्वाचनमा उम्मेदवार बनेका २१ हजार २ सय ३० जनाले मात्रै निर्वाचनको खर्च विवरण बुझाएका छन्।
साउन ३१, २०७९ मंगलबार २०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।