कांग्रेसको महिला केन्द्रीय सदस्यमा देउवा र इतर समूहमा पाँच/पाँच जनाको भागबण्डा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गर्दा आफ्नो समूहका पाँच जना र अन्य समूहका पाँच जना मनोनयन गरे।
केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्याउन १० जना महिला सदस्य थपिएका हुन्। कांग्रेसमा यसअघि ४३ जना महिलाका केन्द्रीय सदस्य थिए।
देउवाले मंगलबार शेखर कोइराला पक्षबाट दुई, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइराला निकट १/१ जनालाई केन्द्रीय सदस्य मनोनित गरे।
देउवा पक्षबाट भने राधा घले, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा केन्द्रीय सदस्य भए। शेखर समूहबाट किरण यादव र रुक्मिणी कोइराला, शशांक समूहबाट निकट उर्मिला थपलिया, सिटौला समूहबाट धना खतिवडा र सिंह समूहबाट कल्याणी रिजाल केन्द्रीय सदस्य भए।
पार्टीको १४औं महाधिवेशनमा सुरुदेखि नै देउवालाई सिटौला र शशांकले सघाएका थिए भने सिंहले दोस्रो चरणमा सघाएका थिए। देउवाले शेखरलाई सकभर कम स्थान दिने गरेका छन्।
साउन ३१, २०७९ मंगलबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।