ठेस लागेपछि बुद्धि बढ्यो, अब चेत्यौं : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित भएर अघि बढ्दा आफूहरुलाई ठेस लागेकोले अब कोही पनि ‘यू-टर्न’ नहुने बताएका छन्।
डा. बाबुराम भट्टराईसँग एउटै निर्वाचन चिह्नमा निर्वाचन लड्ने सहमति गरेपछि आज पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रचन्डले बीचमा आफूहरुले ठक्कर खाएकोले त्यस्तो अवस्था नदोहोरिने दावी गरे।
‘ठेस लागेपछि बुद्धि बढ्छ भने जस्तै हामी सबैलाई ठेस लाग्यो। बुद्धि बढेको छ। अब त्यस्तो हुँदैन’, प्रचण्डले भने, ‘अब हामी उभियौँ। कसैले रोकेर रोकिँदैन।’
अहिले नै पार्टी एकता भने नभइसकेको उनले बताए। ‘चुनाव पछाडि हामीले एउटै केन्द्र बनाउने भन्ने समझदारीमा गएका छौँ। अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ। यसको नेपालको राजनीतिमा, नेपालको यो परिवर्तनलाई संस्थागत गर्ने, विकास गर्ने कुरामा, देशलाई आर्थिक समृद्धिको यात्रामा लैजाने कुरामा पनि निकै ठूलो महत्त्व छ भन्न चाहन्छु’, उनले भने।
मंगलबार मात्रै माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने भनेर निर्वाचन आयोगमा निवेदन दिएका छन्। त्यसपछि पेरिसडाँडामा भेट भएको हो।
साउन ३१, २०७९ मंगलबार १८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।