विधेयकलाई अध्यादेशसँग तुलना गरेर राष्ट्रपतिमाथि आक्षेप लगाइएकोमा एमालेको आपत्ति

काठमाडौंः नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको छ। प्रतिनिधि सभाको आजको बैठक सुरु हुनेबित्तिकै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यादेश र विधेयकलाई उही कोणबाट हेर्ने विषय ठीक नभएको बताए।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी पुनः विचारका लागि संसद्मा फिर्ता पठाएपछि भइरहेको टिका टिप्पणीप्रति भट्टराईले गुनासो गरेका हुन्।
नागरिकतामा राखिएको केही प्रावधान देशको हितविपरीत रहेको भन्दै त्यसको उचित निरुपण गर्नुपर्नेमा उनले जोड दिए।
यस्तै, सांसद लक्ष्मी परियारले दलित समुदायलाई गलत र अपमानजनक नाम राखेर जारी गरिएको नागरिकता नसच्याइएको भन्दै सदनको ध्यानाकर्षण गराइन्। दैलेखका एक नागरिकले नागरिकता सच्याउनका लागि आवेदन दिएको भए पनि त्यसको सुनुवाई नभएको र सम्बन्धित अधिकारीले उल्टै अपमान गरेकामा उनले आपत्ति प्रकट गरिन्।
साउन ३१, २०७९ मंगलबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।